सुर्खेत । झण्डै दुई वर्षपछि माथिल्लो डोल्पामा चामल ढुवानी सुरु भएको छ । सुर्खेतबाट माथिल्लो डोल्पाका लागी ३ हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको हो ।
सुर्खेतबाट सदरमुकाम दुनै हुँदै माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका चामल ढुवानी शुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए ।
‘दुनैसम्म गाडीमा र दुनैबाट डिपोसम्म खच्चडमार्फत चामल ढुवानी थालेका छौं,’ उनले भने, ‘आफ्नै जिल्ला भएर स्थलमार्ग हुँदै पहिलोपल्ट यसरी ढुवानी भइरहेको छ ।’ यसअघि चीन हुँदै माथिल्लो डोल्पामा चामल ढुवानी हुँदै आएको थियो ।
प्रमुख पाण्डेका अनुसार ३ हजार ७४ क्विन्टलमध्ये ४ सय ४० क्विन्टल चामल दुनै पुगेको छ । झण्डै एक हजार क्विन्टल चामल बाटोमा छ ।
छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १ सय क्विन्टल चामल पुगिसकेको कम्पनीले जनाएको छ ।
सडक सञ्जाल नपुगेको भन्दै यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयले नै डोल्पामा चामल ढुवानी गर्दै आएको थियो । यस वर्ष भने कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी भएको हो ।
दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले चामल ढुवानीको जिम्मा लिएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्धको धो, छार्काताङसोङको ढारगाउँ र शेफोक्सुण्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ ।
डोल्पाका ग्रामीण बजारमा प्रतिक्विन्टल १२ देखि २० हजार रुपैयाँमा चामल बिक्री भइरहेको छ ।