बैंकरहरूको संगठित संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबिए)ले असोजबाट निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा गर्ने भएका छन् । पछिल्लो ६ महिनायता बैंकहरूले एक–आपसको भद्र सहमति तोड्दै प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् । बैंकहरूले भदौको निक्षेपको तुलनामा १० प्रतिशत थपघट गर्न पाउनेछन् । हाल मुद्दती निक्षेपको ब्याजदर ११.०३ प्रतिशत छ भने संस्थागत निक्षेपको ब्याजदर १० प्रतिशत छ ।
ब्याजदर बढाएपछि निक्षेप आकर्षित गर्न सघाउ पुग्ने बैंकरहरूको अपेक्षा छ । नयाँ सहमतिअनुसार अब बैंकहरूले प्रतिस्पर्धाका आधारमा ब्याजदर थपघट गर्न पाउने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए । उनले भने, ‘हामीले यसअघि ब्याजदरमा प्रतिस्पर्धा नगर्ने सहमति गरेका थियौँ । असोजबाट कुनै पनि बैंकले ब्याजदर बढाउन वा घटाउन सक्छ ।’
बैंकरहरूले तत्काल आपसी प्रतिस्पर्धा गरेर ब्याजदर बढाइराख्ने वातावरण भने नरहेको अर्थशास्त्रीहरूको बुझाइ छ । असोज र कात्तिकमा हुने चाडपर्व र मंसिरमा हुने संसदीय निर्वाचनका कारण आर्थिक गतिविधि चलायमान हुँदा नगद आपूर्ति बढ्ने भएकाले ब्याजदरमा खासै वृद्धि नहुने अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक रमेश पौडेलले बताए । उनले भने, ‘सामान्यतया निक्षेपको ब्याजदर मनी सप्लाई (नगद आपूर्ति)ले निर्धारण गर्छ । विगतमा हाम्रो अनुभवले पनि चाडपर्वमा अन्य समयको तुलनामा पैसाको आपूर्ति बढ्ने गरेको छ ।’
कर्णाली टुडे । ३१ भाद्र २०७९, शुक्रबार १०:५३