सुर्खेत । दैलेखका एक जना कोरोना संक्रमितको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुरास गाउँपालिका–५ का ८७ वर्षीय पुरुष छन् ।
उनलाई सास फेर्न कठिनाई भएपछि मंसिर १५ गते प्रदेश अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएको थियो। उनलाई त्यसै दिन कोरोना पुष्टि भएको थियो।
अस्पताल भर्ना हुने समयमा अक्सिजनको मात्रा ८५ प्रतिशत रहेको र उपचारका क्रममा बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ।
उनको शरीरमा चिनीको मात्रा धेरै रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टिपछि मृत्यु हुनेको संख्या २१ जना पुगेको जनाएको छ।