डोल्पामा हिँउ चितुवा जोगाउन पशु बीमा

कर्णालीटुडे २०७७, २४ मंसिर बुधबार १७:२५

सुर्खेत । दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउन डोल्पामा पशु बीमा कार्यक्रम लागू गरिएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बीमा गर्न थालिएको हो ।

निकुञ्ज क्षेत्रमा पाइने हिँउ चितुवा, ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरमा हुने क्षति न्यूनीकरण गर्दै कृषकको हिँउ चितुवाप्रतिको प्रतिशोध घटाई संरक्षण गर्न बीमा कार्यक्रम लागू गरिएको निकुञ्जले जनाएको छ ।

आयआर्जनको प्रमुख आधार भनेकै पशुपालन व्यवसाय भएकाले स्थानीय कृषकमा पशु बीमासम्बन्धी स्पष्ट धारणा बसाल्न सदरमुकाम दुनैमा कृषकलाई बोलाएर चारदिने तालीमसमेत दिइएको छ ।

शे–फोक्सुण्डो निकुञ्ज दुर्लभ वन्यजन्तु हिउँ चितुवाको प्रमुख बासस्थान भएकाले यसलाई जोगाउन पहिलोपटक बीमा कार्यक्रम लागू गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

पशु बीमा योजनाको खर्च स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षयकोषको ब्याज रकमबाट जम्मा गरिने छ ।

यसले वन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

आफ्नो पशुको बीमा गर्ने सदस्यले बचत तथा प्रिमियम रकमको लगानीमार्फत सस्तो ब्याजमा कर्जा लिन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशकाे १३ दिने आन्दोलन र संघीयता कार्यान्वयनको प्रश्न ?

२०७७, २४ मंसिर बुधबार १७:२५
कर्णाली प्रदेश प्राप्तिको आन्दोलनले चौथो वर्ष पूरा गरिरहेको सन्दर्भमा त्यसको ऐतिहासिक महत्व र त्यसका उपलब्धिको रक्षामा देखिएका चुनौतीका बारेमा चर्चा गर्न जरुरी देखिन्छ । संविधान सभावाट संविधान जारी हुनुपूर्व २०७२ असार २३ गते सर्वपक्षीय सहमतिका आधारमा प्रदेशहरुको सिफारिस गरिएको थियो । उक्त सिफारिसमा साविकको मध्यपश्चिमको भूगोललाई सुदूरपश्चिममा मिलाएको विषयलाई लिएर […]