पूर्व अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज बुझाइने

काठमाण्डाैं ।  चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आज बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो ।

समितिले शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन भने असफल बनेको छ । सो समितिलाई सुरूमा १० कार्य दिन दिइए पनि तोकिएको समयमा आवश्यक काम नसकिएपछि थप ७ दिन म्याद थपिएको थियो । जसको म्याद आज सकिँदैछ ।