तीन  दशकपछि कालोपत्रे गरिदै सुर्खेत बड्डीचौर–बेनीघाट सडक

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु भएको छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बिहीबार कालोपत्रे योजना शिलान्यास गरेका हुन् । पहिलो चरणमा बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे हुने छ । झण्डै तीन दशक अघि निर्माण सुरु भएको यो सडक वर्षौँदेखि स्तरोन्नति हुन नसकेर जीर्ण अवस्थामा थियो ।

मन्त्री बिसीले पहिलो खण्ड बड्डीचौरबाट डोजर चलाएर कालोपत्रेको काम सुचारु गरेका हुन् । दुई वर्षअघि संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारे पनि निर्माण कार्य अघि बढेको थिएन ।

संघ सरकारले स्तरोन्नतिका लागि ध्यान नदिएपछि अपनत्व लिएर प्रदेश सरकारले कालोपत्रेको काम अघि बढाएको हो । मन्त्री बिसीले पहिलो चरणमा बड्डीचौरदेखि खम्बगाडेसम्म सडक कालोपत्रे गरिने बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनीले सम्झौता गरेको छ । कालोपत्रेको जिम्मा अनक जयदेवी जेभी बाँकेले लिएको छ ।

निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेत बीच गत असार १४ गते निर्माण सम्झौता भएको थियो । कालोपत्रेको काम ०८१ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने लक्ष्य लिइएको छ ।

निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तार लगायतका कामहरु गरिनेछ । यो सडकको सुरुवात ०५१ सालमा मै भएको थियो । निर्माण सुरु भएको लामो समयसम्म पनि स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका नागरिक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकको यात्रा गर्न बाध्य थिए ।

सल्यानको सीमानादेखि सुदूरपश्चिम जोड्ने बेनीघाटसम्म २ सय ३२ किलोमिटर सडक छ । वर्षौँदेखि सडक स्तरोन्नतिका लागि आवाज उठे पनि काम अघि बढ्न सकेको थिएन ।