मलयालम फिल्म ‘जलिकट्टु’ले यो साल अस्करमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।
भारतको दि फिल्म फेडरेसन अफ इन्डिया (एफएफआई)ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा आउँदो वर्षको अप्रिलमा हुने प्रतिस्पर्धाका लागि लिजो जोजे पेल्लिसेरी निर्देशित फिल्मलाई पठाउने निर्णय गरेको हो ।
प्रतिस्पर्धाका लागि विभिन्न राज्यबाट प्राप्त २७ फिल्मबाट ‘जलिकट्टु’ छानिएको एफएफआईले जनाएको छ ।
एफएफआईको तर्फबाट फिल्म छनोट समितिका मुख्य निर्णायक निर्देशक राहुल रवैलले फिल्मले मानवीय स्वभावलाई अत्यन्त रोचक कथा र शैलीमार्फत अभिव्यक्त गरेको भन्दै भारतबाट यो फिल्मलाई पठाउने निर्णय गरेको बताएका छन् ।
गत सालको टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्मले चौतर्फी प्रशंसा पाएको थियो । पेल्लिसेरीले यसअघि ‘अंगमली डायरिज’, ‘इ मा यु’ जस्ता फिल्म निर्देशन गरेका छन् ।
गत साल जोया अख्तर निर्देशित फिल्म ‘गली ब्वाई’ले अस्करमा भारतको प्रतिनिधित्व गरेको थियो ।
अस्करको ९३ औं संस्करण सन् २०२१ को अप्रिल २५ मा डल्बी थिएटरमा आयोजना हुँदैछ । महामारीका कारण दुई महिना पछि सरेको अस्कर यसअघि फ्रेब्रुअरी महिनाको दोस्रो आइतबार हुँदै आएको थियो ।a