तीन करोडको लगानीमा वीरेन्द्रनगरमा खुल्यो ‘गोरेटो बार’

सुर्खेत । प्रदेश राजधानी भएसंगै सुर्खेतको वीरेन्द्रनगरमा ठूला सुविधा सम्पन्न होटल तथा बारहरु धमाधम खुल्न थालेका छन् ।

लामो समय कोरोना महामारीले थलिएको होटल व्यवसायी पुनः सञ्चालनमा आउँनुकासाथै नयाँ खुल्नेक्रम पनि बढ्दो छ ।

बिहीबार मात्रै झण्डै तीन करोडको लगानीमा वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रमा ‘गोरेटो बार एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । यूवा उद्यमी हरि विष्ट र ज्योती कटुवालले सञ्चालनमा ल्याएको उक्त बार कर्णालीमै पहिलोपटक सञ्चालनमा आएको र उच्च क्वालिटीको रहेको दावी गरिएको छ ।

कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमका बीच बारकोे उद्घाटन गरेका छन् । उनले समग्र कर्णालीको विकासका लागि निजी क्षेत्रको पनि महत्वपुर्ण भूमिका रहेको भन्दै प्रदेशमै ‘हाई क्वालिटी’ का बार रेष्टुरेन्टले यहाँ आउने पर्यटकहरूलाई आरामदायी एवंम् पूर्ण वातावरणको महसुश गर्न सक्ने बताए ।

त्यसका लागि ‘गोरेटो’ ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा उनले गरे । ‘कर्णाली आउने जोकोहीले वीरेन्द्रनगरमा राम्रो होटेल रेष्टुराँ र आरामदायी स्थान छैन भनेर गुनासो गर्छन् । अब यो गुनासो गोरेटोले कम गर्नेछ भन्ने विश्वास लिएको छु,’ मुख्यमन्त्री शाहीले भने ।

बारको ओपनिङ सेरोमोनी शनिबार सम्म चल्नेछ । त्यसका लागी चर्चित गायक हेमन्त शर्मा र थानेश्वर गौतम सुर्खेत आएका छन् ।

दुवैजना गायकले आफ्नो सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको सञ्चालक विष्टले बताए । ‘गोरेटो कर्णालीका नागरिकको लागि साँच्चै गोरेटो बन्ने छ,’ सञ्चालक विष्टले भने, ‘गोरेटो हाम्रो कला, संस्कृति र सम्पदा सँगै सबैको सारथी बन्नेछ ।’

उनका अनुसार २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने सुविधा सम्पन्न हल र उत्कृष्ट क्याविनहरु छन् ।