चिनियाँ कम्युनिष्ट नेता ओलीसँग भेटवार्ता गर्न बालकोट पुगे

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन्।

लिउसहितका चिनियाँ नेताहरुको प्रतिनिधिमण्डल ओलीसँग वार्ताका लागि मंगलबार बिहान बजे बालकोट पुगेका हुन्।

चिनियाँ नेताहरुसँग वार्ताका लागि ओलीसँगै एमाले नेताहरू उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्। त्यस्तै विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी छन्।

उक्त वार्तामा उषाकिरण भण्डारी, अञ्जान शाक्य र कृसा केसी पनि सहभागी रहेको बालकोट स्रोतले जनाएको छ।

आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।