कोरोना संक्रमितको अनुभव :

मैले लुकाइनँ, तपाईं पनि नलुकाउनोस्

कर्णाली टुडे
सूर्यप्रकाश कँडेल २०७७, १५ मंसिर सोमबार १८:४६

म स्वास्थ क्षेत्रको ब्यक्ति होइन । न त कोरोनाको विषयमा खोज अनुसन्धान नै गरेको व्यक्ति हुँ । हुँ त केवल संक्रमणको अनुभवी एवं पूर्वसंक्रमित । मैले व्यक्त गरेका कतिपय विषय मेडिकल विज्ञानले प्रमाणित गरिनसकेका हुन् । त्यसैले, मैले यहाँ केवल आफ्नो अनुभव र अनुभुति मात्र व्यक्त गर्न खोजेको छु ।

पछिल्लो केही दिनमा प्रत्यक्ष सम्पर्कमा रहेका मेरा केही साथीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी पाएसँगै मैले पनि स्वास्थ्य सावधानी अपनाएर बसिरहेको थिएँ । रुघाखोकी लागेर निको भैसकेको भएता पनि स्वास्थ्य मापदण्डको पालन गर्दै कन्ट्याक ट्रेसिङमार्फत पीसीआर चेकका लागि स्वाब दिएर होम आइसोलेसनमा बसिरहेको थिएँ । स्वाब दिएको तेस्रो दिनमा स्वास्थ कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्ले सरले फोन गरेर रिर्पोट पोजेटिभ आएको जानकारी दिनुभयो ।

मैले उहाँको फोन कोरोना रिर्पोटको जानकारी दिन होला भन्ने सोचिनँ, सामान्य तरिकाले कुरा गर्न थालें । तर, उहाँले मेरो स्वास्थ अवस्था बुझ्दै मेरो रिर्पोट पोजेटिभ आएको जानकारी दिँदा म झस्किएँ । उहाँले फोन गर्दा हल्का घाँटी दुखिरहेको थियो ।

उहाँको परामर्शमा म होटेल आइसोलेसनमा बस्ने निर्णयमा पुगे । पोजेटिभ रिर्पोट आएको खबर पाएको आधा घण्टाभित्रै मैले मेरो स्वास्थभन्दा पनि मेरो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन आग्रह गर्नुपर्ने पहिलो जिम्मेवारी सोचेर आफू संक्रमित भएको सूचना मेरो फेसबुक एकाउन्टमार्फत सार्वजनिक गरेँ ।

म संक्रमित भएको जानकारी पाएलगत्तै फोन र सामाजिक सञ्जालमार्फत पछिल्लो एकहप्ता मेरो सम्पर्कमा रहनुभएका अधिकांशलाई सम्पर्क पनि गरेँ । मेरो घरपरिवार, आफन्तजन, कार्यालयका स्टाफ र अन्य साथीहरु गरी कुल ५६ जनामध्ये ४४ जना एक हप्तासम्म होम आइसोलेसनमा बस्नुभयो, जसले गर्दा उहाँहरुमात्र सुरक्षित होइन, उहाँहरुले थप संक्रमण फैलाउनबाट समेत रोकियो ।

हाल नेपाली समाजमा कोरोनाबारे दुईथरि मान्यता स्थापित छन् । पहिलो, यसका बारेमा सामान्य ज्ञान र जानकारी भएकाहरु कोरोनालाई हाउगुजी नै भन्ठान्छन् । अनि, भोगेर जित्नेहरु केही पनि होइन, वाहियात हो भन्नेहरु पनि छन् । यी दुवै गलत बुझाइ हुन् । यसमा साझा र वास्तविक मध्यममार्गी धारणाको परिभाषा आवश्यक छ ।

सामान्य तथा शरीरमा इम्युनिटी पावर बढी भएका व्यक्तिहरुलाई संक्रमणको जोखिम कम हुने र संक्रमित भइसके पनि छिटै निको हुने यसको बिशेषता रहेछ । मलाई कोरोना संक्रमण पुष्टि हँदाका बखत सामान्य तवरले घाँटीमा दुखाइ थियो, संक्रमण पुष्टिको रिर्पोट आएको तेस्रो दिन बिहानदेखि अलि दुखाइ बढ्यो र डाक्टरको सल्लाहबमोजिम सातदिनको औषधि प्रयोग गरेपछि निको भयो ।

आइसोलेसन बसाइका बखत नियमित तातो पानी, त्यो पनि तात्तात्तै पिएँ, साथमा केही जडीबुटी र आयुर्वेदिक औषधिहरु बेसार, गुर्जोको धुलो, ज्वाँनो, अदुवा, तुलसीको पत्ता, टिमुर आदि तातो पानीसँगै नियमित सेवन गरेँ । खाली पानी प्रायः पिइनँ । एलोपेथिक र आयुर्वेदिक दुवै औषधि डाक्टरहरुको परामर्शमा नियमित लिइरहेँ ।

घाँटी दुख्नेबाहेक अन्य लक्षणहरु नदेखिएकाले पनि मलाई आफ्नो मनोवल उच्च राख्न सहयोग पुग्यो । सबैभन्दा ठूलो मेरो आत्मबल नै हो । जब मैले सामाजिक सञ्जालमा मलाई संक्रमण पुष्टि भएको जानकारी गराएँ, त्यसको लगतै सबै क्षेत्रबाट आएको सल्लाह, सुझाव, हौसला, विभिन्न प्रतिक्रिया र माया तथा शुभकामनाले मलाई सन्तोषको अनुभुति दिलायो र आत्मबल बलियो बन्दै गयो ।

यसअवधिमा मैले कोरोनासँग सम्बन्धित दर्जनौं देशका डाक्टरका सुझावसहितका अन्र्तवार्ता, डब्लुएचओको सुझाव, विभिन्न सचेतनात्मक डकुमेन्ट्री, योग तथा साधना अभ्यास,कोरोनासम्बन्धी सोध तथा खोजसम्बन्धी थुप्रै लेख रचना अध्ययन गरें । मैले मेरो दैनिक कार्यतालिका पूरै बिर्सिएँ । कुनै वस्तु तथा कामप्रतिको मोह राखिनँ र सबै भुलेझैं गरी कोरोनाविरुद्धको नयाँ दैनिक कार्यतालिका तयार पारेँ ।

बिहान उठ्नेबित्तिकै तातोपानी पिउने, योग गर्ने, घाममा बस्ने, खाना खाने, अध्ययन गर्ने, भेट गर्न आउनेलाई सहजै दुरी कायम गरी भेट्ने, देखि आफूलाई रोमान्टिक मुडमा राख्नलाई हरदम प्रयास गरिरहंे । आफूलाई एक्लो महशुस हुन नदिन दैनिक २ घण्टा जति साथिभाई तथा आफन्तजनसँग भिडियो कुराकानी, कोेरोना संक्रमित अन्य साथीहरुसँग खानपिनको कुराकानी र डाक्टरहरुसँग आˆनो स्वास्थको नियमित रिर्पोटिङ गरिरहंे । यी सबै मेरो दैनिक ब्यवहारले गर्दा १५ औं दिनमा कोरोना पुनः परीक्षण गर्दा कोरोना मुक्त भएँ ।

मेरो अनुभवमा आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य परिपालना सबैले गरौं । कोरोना खासै केही होइन भन्ने भ्रममा नबसौं ।

संक्रमितहरु लुक्नु र लुकाउनु गलत हो !

संक्रमित ब्यक्तिबाट अन्य ब्यक्तिमा सर्ने सरुवा रोग भए पनि कोरोना संक्रमितको नाम तथा उसको परिचय गोप्य राख्ने परिपाटीले उसको सम्र्पकमा आएका मानिसहरु सजक र सर्तक रहने अवसरबाट बञ्चित हुन पुगेको देखिन्छ ।

घरपरिवार त थाहा पाउँछन् नै, तर साथीभाइ र संक्रमित पुगेका कार्यालय, पसल, अस्पताल र रेष्टुरेन्ट, अन्य सार्वजनिक स्थल, सार्वाजनिक यातायातमा सहभागी सबै जोखिममा परेका हुन्छन् । यदि कुनै कारणबस अन्यमा त्यो संक्रमण देखिन पुगेमा त्यो ब्यक्ति र राज्य दुवैका लागि असर हो ।

एकातर्फ सरकारले संक्रमितको नाम गोप्य राख्नु र अर्कोतर्फ संक्रमित स्वयंले खुल्न नचाहनुले ज्यामितीय दरमा कोरोना संक्रमण फैलिएको हो । सरकारले विश्वस्वास्थ्य संगठनको मापदण्ड भन्दै संक्रमितको नाम गोप्य राखिदिँदा संक्रमितहरु सामाजिक तिरस्कारको चपेटामा परेको देखिन्छ । जसले गर्दा कोरोना संक्रमितहरु आफन्त, साथीभाइ र समाजको नजरमा हत्या र बलत्कार गरेका अपराधीसरहको सामाजिक ब्यवहार भोग्दै अपमानित हुन पुगेका छन् ।

यो एउटा सामान्य सरुवा रोग हो भने संक्रमितको परिचय किन लुकाउने, अनि स्वयम संक्रमित पनि किन लुक्ने ? हाल सरकारले नै कोरोना संक्रमितको परिचय गोप्य राखिदिँदा एकातर्फ संक्रमित र उसको परिवार सामाजिक तिरस्कारमा पर्ने गरेको देखिन्छ भने अर्कोतर्फ संक्रमित नखुल्नाले उसको सम्पर्कमा रहेका सयौंजना सावधानीको उपाय अपनाउनबाट बञ्चित रहन्छन् र उनीहरुले नै विनाजानकारी अरुलाई संक्रमण फैलाइरहेका हुन्छन् ।

त्यसैले, कोरोना संक्रमित लुक्नु र लुकाउनु अक्षम्य अपराध हो । यो विषयमा सरकारले समयमा नै मापदण्ड परिवर्तन गरी संक्रमितको स्वास्थ्य उपचारमा विशेष जिम्मा लिँदै उसको परिचय सार्वजनिक गरिदिनुपर्छ ।

यो सरुवा रोग हो भन्ने सबैलाई जनचेतना भयो भने सबैजना संक्रमितलाई तिरस्कार गर्न होइन, आफ्नो स्वास्थ्यमा सावधानी अपनाउन केन्दि्रत रहन्छन् र समाजले पनि संक्रमितलाई हेर्ने नजरमा परिवर्तन हुन पुग्छ ।

एकजना संक्रमित खुल्नाले उसको नजिकको सम्र्पकमा रहेका सयजनासम्म सेल्फ आइसोलेसन तथा अन्य सावधानीका उपाय अबलम्वन आफैँ गर्न पुग्ने थिए । तर, नाम गोप्य राखिनुले संक्रमण घट्ने होइन, झन बढ्दैछ ।

त्यसकारण, नीतिगत तहबाट नै संक्रमितको नाम सार्वाजनिक गरी उसलाई स्वास्थ उपचार र सामाजिक ब्यवहार गरौं, अनि सम्पर्कमा रहेकाहरु तोकिएको सुरक्षा मापदण्ड प्रयोग गर्न पुगी संक्रमणको दर न्यून गर्न सकिन्छ । कोरोनो संक्रमण भएका व्यक्ति र उसको परिवारहरुलाई पन्छ्याउने होइन, आवश्य स्वास्थ्य मापदण्ड पुर्‍याई उनीहरुको आत्मबल बढ्ने व्यवहार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश कानून निर्माणका जटिलता

२०७७, १५ मंसिर सोमबार १८:४६
एकात्मक व्यवस्थाको उल्झनबाट परिवत्र्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पर्दापण हुँदै गर्दा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँट भएको छ । हिजो एउटै सरकार, एउटै व्यवस्थापिका, एउटै नीति र एउटै कार्यान्वयको इकाइबाट विविध सरकार, कानून निर्माणका तह, विविध कानून, फरक निर्णय र कार्यान्वयनकोे व्यस्थाले अधिकारको झन् विकेन्द्रीकरण गरेको छ । शक्ति र […]

सम्बन्धित