ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डाैं ।  गठबन्धन सरकारले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यलाई ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिएको छ । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

यससँगै, आज राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आजै रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।

घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको हो ।

आज बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूबीचको सहमतिअनुसार उद्योग मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरे । नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच बसेको बैठकले सर्वसाधारणलाई राहत हुने गरेर तत्काल मूल्य समायोजन गर्न निर्देशन दिएपछि आजैदेखि मूल्य घटाइएको उद्योग मन्त्रालयको भनाइ छ ।

सत्ता गठबन्धनको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २८ रुपैयाँले घटाउने निर्णय गरेको थियो । तर, गठबन्धन बैठकको निर्णय सुनाउने क्रममा उद्योग मन्त्री बडूले झुक्किएर २९ रुपैयाँ घटेको बताएपछि सोहीअनुसार लागू हुने घोषणा समेत गरे । त्यसक्रममा उनले २८ रुपैयाँ घटेर डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ हुने घोषणा गरेका थिए ।