टीट्वेन्टी शृंखला : नेपाल–युगान्डा भिड्दै

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा पहिलो पटक टीट्वेन्टी शृंखला खेल्न लागेको छ। नेपालले अफ्रिकी मुलुक युगान्डासँग पाँच खेलको टीट्वेन्टी शृंखला खेल्न लागेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युगान्डा सोमबार पहिलो पटक उत्रिँदै छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको १५ वर्षपछि महिला टोलीले घरेलु मैदानमा टीट्वेन्टी शृंखला खेल्न लागेको हो। नेपालले सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो ।

नेपालले यसअघि सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेट खेलेको थियो। पोखरामा भएको प्रतियोगितामा नेपालले कांस्य पदक जितेको थियो। युगान्डाविरुद्ध नेपालले दोस्रो टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो। यसअघि नेपालले कतारविरुद्ध गत मंसिरमा टीट्वेन्टी शृंखला खेलेको थियो। तीन खेलको शृंखला नेपालले क्लिन स्विप गरेको थियो। नेपाल सोमबार युगान्डालाई पराजित गर्दै शृंखलामा अग्रता लिने अभियानमा छ। यसका लागि नेपाली खेलाडीले लामो समयदेखि तयारी पनि गरेका छन्। युगान्डाविरुद्धको शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रुबिना क्षत्रीको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। नेपाली टोलीमा सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, ज्योति पाण्डे, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरणमयी रोय र बिन्दु रावल छन्।

एसिया कप छनोटको तयारीमा रहेका खेलाडीलाई एक्स्पोजर दिन क्यानले युगान्डाका खेलाडीलाई आमन्त्रण गरेको हो। नेपाल र युगान्डाबीचको दोस्रो खेल मंगलबार हुनेछ। यसैगरी तेस्रो खेल जेठ ५, चौथो जेठ ६ र अन्तिम खेल जेठ ७ गते हुनेछ। नेपालको घरेलु मैदानमा हुने उक्त खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएकाले दुवै राष्ट्रको विश्व वरीयतामा पनि प्रभाव पर्ने भएको छ। विश्व वरीयतामा पछिल्लो समय नेपाल १६औं र युगान्डा १९औं स्थानमा छन्।