वीरेन्द्रनगरको फोहोर व्यवस्थापनको जिम्मा वडालाई

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा समितिलाई पूर्ण जिम्मेवारी दिएको छ ।

नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिलाई जिम्मेवारी दिएको जानकारी दिइन् ।

नगरपालिकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी हाल क्लिन नेपाल नामक संस्थाले लिएको छ । फोहोरमैला सङ्कलन, व्यवस्थापन र अनुगमनलगायतका कार्यको नेतृत्व अब सम्बन्धित वडाले गर्नेछन् ।

नगरप्रमुख ढकालले अनुगमनका क्रममा कैफियत देखिएमा सम्बन्धित वडाले ठेक्का तोड्न पाउने गरी अधिकार प्रत्यायोजन गरिएको बताइन् । नगरपालिकाको सोमबार बसेको पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले ज्येष्ठ नागरिक, अति विपन्न र दीर्घ रोगीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, नगरक्षेत्रका ज्येष्ठ नागरिक र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, ढल तथा नालाहरूको शीघ्र मर्मतका लागि तत्काल प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने, वीरेन्द्रनगर- ११, भेरी पुलनजिकको प्रश्रान्ति धार्मिक वन क्षेत्रमा गौशालाको पूर्वाधार निर्माण गरी छाडा चौपायाको व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको लगत सङ्कलन गरी उचित संरक्षण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले स्थानीय राजस्व परामर्श समिति र स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिलाई पूर्णता दिएको छ । राजस्व परामर्श समितिका सदस्यमा वडा नं ७ का अध्यक्ष ध्रुवकुमार चपाईं र कार्यपालिका सदस्य यमुनाकुमारी नेपालीलाई मनोनयन गरेको छ भने बजेट सीमा निर्धारण समितिका सदस्यहरूमा कार्यपालिका सदस्यहरू रचना बाठा, सरिता चौधरी र नवराज गुरुङलाई मनोनीत गरेको छ ।

नगरप्रमुख ढकालका अनुसार ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब अभियान’ अन्तर्गत नगर शैक्षिक कोष स्थापना गर्न नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई मस्यौदा तयार गर्न जिम्मेवारी दिने, भूमिसम्बन्धी समस्या समाधानका बाँकी कार्यहरूलाई निरन्तरता दिने निर्णय गरेको छ ।