जिसस जुम्लाको प्रमुखमा काँग्रेसबाट आचार्य सिफारिस

जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेपाली काँग्रेसले गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ ।

आचार्य चन्दननाथ नगरपालिका १ नम्बर वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् । कर्णाली प्रदेश संसदीय समितिको निर्णयले काँग्रेसले जुम्ला जिल्लाको समन्वय प्रमुखमा आचार्यलाई उम्मेदवार बनाएको हो ।

आठ स्थानीय तह रहेको जुम्लामा काँग्रेस एक्लैले पाँच स्थानीय तह प्रमुख जितेको छ । त्यसैले यहाँ जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख काँग्रेसकै बन्ने पक्का छ । जिल्ला समन्वय समितिको लागि काँग्रेसको ५, माओवादी केन्द्रका २ र एक स्वतन्त्र मत छ ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्र जिल्ला समन्वय समिति प्रमुख र काँग्रेस उपप्रमुख रहेका थिए ।