कर्णाली प्रदेशको राजधानीमै डेंगी प्रकोप

कर्णाली टुडे
२०७७, १५ कार्तिक शनिबार १७:१३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा डेंगी ज्वरोका बिरामी बढेका छन् । पछिल्लो तीन महिनामा लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण व्यापाक रुपमा फैलिन थालेको हो ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार पछिल्लो तीन महिनामा एक सय दुईजना डेंगीबाट संक्रमित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सबैभन्दा धेरै डेंगीबाट संक्रमित भएका छन् । कोरोना माहामारीले आक्रान्त पारिरहेको बेला डेंगुको संक्रमणले यहाँका स्थानीयलाई त्रसित बनाएको छ ।

सफा पानीमा बस्ने एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण ग्रामीणभन्दा पनि शहरी क्षेत्रमा धेरै फैलिने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले बताए । ‘यो सफा पानीमा फुल पार्ने लामखुट्टेको टोकाईबाट डेंगी हुने भएकाले शहरी क्षेत्रमा धेरै संक्रमण देखिएको छ’ उनले भने ।

आर्थिक वर्ष ०७६/७७ मा सुर्खेतमा एक सय ३४ जनालाई डेंगी भएको थियो । अहिले पनि डेंगी संक्रमणको दर जिल्लामा गत आर्थिक वर्षको बराबर रहेको प्रमुख वाग्लेले बताए । उनका अनुसार यो आर्थिक वर्षको अहिलेसम्म डेंगीबाट मृत्यु भने भएको छैन ।

चिसोको समय सुरु हुँदासम्म संक्रमण देखिने भन्दै उहाँले सचेत रहन तथा आफ्नो क्षेत्र वरिपरि सरसफाई गर्नुपर्ने वाग्लेको भनाई छ । ‘यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ’ प्रमुख वाग्लेले भने, ‘खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्या‌ंकी आदिमा यसले फुल पार्ने भएकाले यस्ता भाँडाहरुमा पानी जमे नजमेको हेर्नुपर्छ ।’

डेंगी ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट मुख्य उपाय रहेको वाग्लेले बताए । डेंगी ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकारले काेराेनाकाे निःशुल्क उपचार गर्ने

२०७७, १५ कार्तिक शनिबार १७:१३
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड–१९को परीक्षण निःशुल्क गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोििभडको लक्षण देखिएका बिरामीको पीसीआर परीक्षणनिःशुल्क गर्ने निर्णय गरेको हो । संघीय सरकारले संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने भनिए पनि कर्णाली सरकारले भने निःशुल्क उपचार गरिदिने निर्णय गरेको छ । बैठकले कोभिड परीक्षण, […]